सुनसरीका पक्राउ परेका आन्दोलनकारीलाई २४ घण्टाभित्र रिहा गर्न संयुक्त हिन्दू मोर्चाको माग

१ भदौ , सुनसरी । संयुक्त हिन्दू मोर्चा, सुनसरीले देवानगञ्ज–कप्तानगञ्ज घटनापछि पक्राउ परेका आन्दोलनकारी युवालाई बिना सर्त २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ। मोर्चाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेको हो।

मोर्चाका संयोजक कलेक्टर यादव (कपिल)ले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रमा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्ड तथा त्यसपछि सुनसरीका विभिन्न स्थानमा भएका विरोध तथा आन्दोलनका क्रममा पक्राउ परेका युवाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

ज्ञापनपत्रमा हिन्दू समुदायका नागरिकमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष, तथ्यपरक र प्रभावकारी छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न राज्यको दायित्व भएको उल्लेख गरिएको छ। तर घटनाको विरोधमा सहभागी नागरिक तथा युवालाई मात्र लक्षित गरी पक्राउ गर्ने र सुरक्षा व्यवस्थाका नाममा हिन्दू बस्ती तथा समुदायमा त्रासको वातावरण सिर्जना गर्ने कार्यले राज्यप्रतिको नागरिक विश्वास कमजोर बनाउन सक्ने मोर्चाको भनाइ छ।

मोर्चाले हरिनगर गाउँपालिका–४ घुस्कीमा हिन्दू समुदायका घर तथा मिलमा भएको आगजनी, हरिनगर घुस्कीको दिनाभद्री मन्दिर र गौतमपुरको राजाजी थानमा भएको मूर्ति तोडफोड तथा धार्मिकस्थलको अपमान, थानामा रहेका व्यक्तिमाथि भएको कुटपिट, भोक्राहा नरसिंहको चिरौली चोकमा हिन्दू समुदायका पसलमा भएको आगजनी, कोशी कटान क्षेत्रमा हिन्दू समुदायका पसलमा भएको आगजनी तथा सामाजिक सञ्जालमार्फत दिइएका धम्की, गालीगलौज र उत्तेजक अभिव्यक्तिको समेत निष्पक्ष छानबिन गर्न माग गरेको छ।

त्यसैगरी, इनरुवा नगरपालिका–१०, जलपुरमा एक हिन्दू युवालाई अपहरण गरी फिरौती मागिएको घटनाको पनि अनुसन्धान गर्न मोर्चाले माग गरेको छ।

ज्ञापनपत्रमा कुसाहामा भएको घटनाका सम्बन्धमा प्रकाशित समाचारका आधारमा मदरसा–मस्जिदमा रहेका बंगलादेशी रोहिंग्या, पाकिस्तानी तथा भारतीय मुस्लिम नागरिकसमेतको संलग्नता भए–नभएको छानबिन गर्नुपर्ने माग गरिएको छ। यस्तै, देवानगञ्ज घटनापछि छानबिनका क्रममा हिन्दू पक्षका युवालाई मात्र पक्राउ गरिएको भन्दै मोर्चाले प्रहरी प्रशासनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

मोर्चाले जिल्ला प्रशासनसमक्ष आठबुँदे माग राखेको छ। जसमा देवानगञ्ज–कप्तानगञ्ज घटनासहित सुनसरीका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, धार्मिकस्थल, मन्दिर, घर, पसल तथा सार्वजनिक वा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, कुटपिट र धम्कीको अनुसन्धान गरी संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग छन्।

त्यस्तै, सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, धम्की दिने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने कार्यमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न, शान्तिपूर्ण आन्दोलनमा सहभागी युवालाई आरोप, प्रमाण र कानुनी आधारबिना पक्राउ गर्ने कार्य तत्काल रोक्न तथा पक्राउ परेका आन्दोलनकारी युवालाई तत्काल रिहा गर्न मोर्चाले माग गरेको छ।

मोर्चाले हिन्दू समुदायको धार्मिक तथा सांस्कृतिक आस्था, संस्कार, परम्परा, रीतिरिवाज र सम्पदाको संरक्षण तथा सम्मान हुने वातावरण सुनिश्चित गर्न पनि प्रशासनसँग आग्रह गरेको छ। आगामी ठूला चाडपर्वका क्रममा भयमुक्त वातावरणमा धार्मिक गतिविधि सञ्चालन गर्न आवश्यक शान्ति–सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उसको माग छ।

सुनसरीमा साम्प्रदायिक सद्भाव, सामाजिक शान्ति र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी कुनै पनि हिन्दू धर्मावलम्बीमाथि व्यक्तिगत वा सामूहिक दोषारोपण तथा प्रतिशोधको वातावरण सिर्जना हुन नदिन पनि मोर्चाले आग्रह गरेको छ।

ज्ञापनपत्रमा मोर्चाले हालसम्म पक्राउ परेका निर्दोष आन्दोलनकारी युवालाई तत्काल रिहा गर्न तथा कुनै व्यक्तिमाथि अभियोग कायम गर्नुपर्ने कानुनी आधार भए पारदर्शी र न्यायोचित प्रक्रियाबाट अघि बढ्न माग गरेको छ। आफ्ना माग बेवास्ता गरी निर्दोष युवालाई अनावश्यक रूपमा थुनामा राख्ने तथा घटनाको निष्पक्ष छानबिन नगर्ने कार्य निरन्तर भए शान्तिपूर्ण, संवैधानिक तथा कानुनी अधिकारको सीमाभित्र रहेर चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more