जंगी अड्डामा भारतीय सेना प्रमुख सेठ, सम्मान गारद ग्रहण

१ भदौ , काठमाडौ । चारदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ सोमबार नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका छन्। सोमबार बिहान जंगी अड्डा पुगेका उनले नेपाली सेनाबाट प्रस्तुत सम्मान गारद ग्रहण गरी निरीक्षण गरेका छन्।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ आइतबार काठमाडौं आइपुगेका हुन्। नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीसहित विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा सहभागिता जनाउनेछन्।
भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।
नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिने गरिएको छ।
चारदिने नेपाल भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष जनरल सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more