सिंहदरबारमा ४ घण्टा ‘हाई लेभल’ बैठक, बालेन–रवि–स्वर्णिमबीच बजेटमा गम्भीर छलफल

१३ जेठ, काठमाडौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सिंहदरबारमा उच्चस्तरीय बैठक भएको छ।
मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब ४ घण्टा चलेको बैठकमा आगामी बजेटका प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम तथा कार्यान्वयन रणनीतिबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा आर्थिक सुधार, सरकारी खर्च नियन्त्रण, रोजगारी सिर्जना, निजी क्षेत्रको विश्वास पुनःस्थापना तथा विकास आयोजनालाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ।
यो राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो पूर्ण बजेट भएकाले राजनीतिक तथा आर्थिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ। सरकारमाथि परिणाममुखी बजेट ल्याउने दबाब रहेका बेला शीर्ष नेतृत्वबीच लामो समय छलफल हुनु अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन दिनभर राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपछि अर्थमन्त्री स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफलमा बसेका थिए।
यसअघि पनि अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटलाई “रूपान्तरणकारी” बनाइने दाबी गर्दै आएका छन्। उनले उत्पादन, प्रविधि, पूर्वाधार र सुशासनलाई केन्द्रमा राखेर नयाँ ढंगको बजेट ल्याइने संकेत दिएका छन्।
सरकारले आगामी जेठ १५ गते संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more