५ कात्तिक , काठमाडौ । साउदी अरबको शेइबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घटनाप्रति नेपाल सरकारले कडा निन्दा गरेको छ।
बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन पूर्वाधारलाई लक्षित गरी गरिएको आक्रमणमा नेपाली र फिलिपिनो नागरिकको मृत्यु भएको हो। घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी ऊर्जा मन्त्रालयका अनुसार वायु रक्षा प्रणालीले ड्रोनलाई आकाशमै नष्ट गरे पनि त्यसको भग्नावशेष खस्दा आयल फिल्डबाहिर रहेको ठेकेदारको गाडीमा आगलागी भएको थियो। सोही घटनामा दुई जना कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
मन्त्रालयले सर्वसाधारण नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने आक्रमणको भर्त्सना गर्दै सम्बन्धित सबै पक्षलाई संवाद, वार्ता र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेको छ।
यसैबीच, साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको विवरण सार्वजनिक भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घटनाबाट भएको भौतिक क्षतिको मूल्यांकन भइरहेको छ।
साउदी अरबका ऊर्जा पूर्वाधार तथा अन्य महत्त्वपूर्ण स्थललाई लक्षित गरी आक्रमणका घटना भइरहेका बेला नेपाली नागरिकको मृत्युसँगै द्वन्द्वग्रस्त क्षेत्रमा कार्यरत नेपाली कामदारको सुरक्षा र उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।




















