२६ माघ,काठमाडौं ।— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका प्रसाईंलाई आवश्यक कागजात र बयान संकलन सम्पन्न भएपछि जमानीमा छाड्ने निर्णय गरिएको हो।
चाल्नाखेलबाट पक्राउ परेका प्रसाईंविरुद्ध पुनः साइबर अपराधसम्बन्धी उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि पनि माघको पहिलो साता उनी हाजिर जमानीमै रिहा भएका थिए।
प्रसाईंमाथि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर पार्टी नेता गगन थापामाथि आर्थिक चलखेलको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गरेको आरोप छ। सोही विषयमा निर्वाचन आयोगले समेत कारबाहीको माग गर्दै साइबर ब्युरोमा औपचारिक पत्राचार गरेको थियो।
प्रहरीका अनुसार प्रसाईंविरुद्धको अनुसन्धान प्रक्रिया भने जारी रहनेछ। हाजिर जमानीमा रिहा गरिए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म आवश्यक परेमा उपस्थित हुनुपर्ने तथा कानुनी प्रक्रियामा सहयोग गर्नुपर्ने सर्त तोकिएको जनाइएको छ।

















