असार २३, काठमाडौ । काठमाडौं महानगरपालिकामा पछिल्ला दिनमा देखिएको प्रशासनिक र राजनीतिक गतिरोध समाधानतर्फ जाने संकेत मिलेको छ। शनिबार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भेटघाट भएको पुष्टि भएको छ। बालेननिकट स्रोतले बुढानीलकण्ठस्थित देउवाको निवासमा झन्डै एक घन्टा लामो भेटवार्ता भएको जानकारी दिएको छ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको भूमिकालाई लिएर उत्पन्न विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ। सोही विवादका कारण हालसम्म महानगरको बजेटसमेत पारित हुन सकेको छैन। यसैबीच मेयर बालेनले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटलाई तीव्र बनाएको देखिएको छ।
श्रोतका अनुसार शनिबारको भेटमा बालेन र देउवाबीच महानगरभित्रको विद्यमान द्वन्द्व, प्रमुख प्रशासकीय अधिकृतको भूमिकासम्बन्धी असन्तुष्टि, बजेट अवरोध, र अन्य नीतिगत असहमतिबारे गहन छलफल भएको थियो। बालेनले देउवाको समर्थनमा सहज वातावरण सिर्जना होस् भन्ने आशामा भेट गरेको बुझिएको छ।
यो भेटले राजनीतिक तहमा समाधानको बाटो खोल्न सक्ने संकेत देखिएको छ। नेपाली कांग्रेसले हाल काठमाडौं महानगरपालिका कार्यपालिकामा महत्वपूर्ण उपस्थिती राखेको छैन तापनि, देउवा नेपालको ठुलो दलको सभापति तथा बहालवाला सांसदसमेत भएकाले उनको राजनीतिक धारणा निर्णायक हुन सक्छ।
बालेनको सक्रियता यतिमै सीमित छैन। देउवासँगको भेटअगाडि उनले एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए। विहीबार भएको सो भेटलाई समेत धेरैले गम्भीर राजनीतिक संवादको प्रयासका रूपमा हेरिरहेका छन्।
राजनीतिक विश्लेषकहरूको बुझाइमा, एक स्वतन्त्र जनप्रतिनिधि भएर निर्वाचित भएका बालेनको पछिल्लो गतिविधि स्वतन्त्रतामै आधारित भए तापनि, समस्या समाधानका लागि उनी दलका मुख्य नेताहरूसँग संवादको बाटो रोज्न बाध्य देखिन्छन्।
काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको नियुक्तिपछि उत्पन्न तनावले मेयरको कार्यशैलीमा अवरोध सिर्जना भएको बालेन पक्षको आरोप छ। प्रशासनिक गतिविधिमा हस्तक्षेप र विकास योजनामा अड्चन उत्पन्न भएको भन्दै बालेन पटक-पटक असन्तुष्टि जनाउँदै आएका छन्।
राजनीतिक दलहरूसँगको समन्वय, समर्थन र दबाबमार्फत बालेनले अहिलेको अवस्थालाई मोड्ने प्रयास गरिरहेको संकेत प्रष्ट देखिएको छ। राजधानीको विकास योजनाले गति लिन र प्रशासनिक सहकार्य सहज बनाउन राजनीतिक तहमा समाधान अनिवार्य देखिन्छ।
राजधानीका नागरिकले सुशासन, पारदर्शिता र द्रुत विकासको अपेक्षा गरेका छन्। मेयर बालेनको प्रयास समाधानमुखी देखिए पनि, त्यसको परिणाम भने दलहरूकै सक्रियता र समझदारीमा निर्भर रहन्छ। शनिबार भेटघाटले काठमाडौं महानगरको गतिरोध अन्त्य हुने आशा जन्माएको छ। अबको बाटो राजनीतिक दलको इच्छाशक्तिमा निर्भर रहनेछ।

















