५ साउन, काठमाडौ । — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन्। उनले नागरिकको भावनाअनुसार निर्णय सच्याउने कदम सकारात्मक भएको उल्लेख गरेका छन्।
घिसिङले स्वदेशमै उत्पादन भएको स्वच्छ विद्युत्को प्रयोग बढाई आयातित पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग विद्युत् उपभोगमा भ्याट लगाउने व्यवस्था मेल नखाने बताएका छन्। त्यसैले ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याट तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क कानुनी रूपमा खारेज गरी सरकारले गरेको घोषणा तत्काल कार्यान्वयनमा ल्याउन पनि आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जालमा गरिएको घोषणा व्यवहारमै लागू हुने गरी आवश्यक कानुनी प्रक्रिया छिटो पूरा गर्नुपर्ने उनको भनाइ छ।
सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता शुल्कको व्यापक विरोध भएपछि हालका लागि उक्त व्यवस्था लागू नगर्ने निर्णय गरिसकेको छ। त्यसपछि घिसिङले विद्युत्मा कायम रहेको ५ प्रतिशत भ्याट पनि हटाउन सरकारसँग माग गरेका हुन्।



















