राजविराजमा दुई सामुदाय बिच तनाव : सार्वजनिक जग्गाको प्रयोग विवादमा

राजविराज, असोज २१ | सप्तरीको राजविराज नगरपालिका–२ मा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक कार्यक्रममा प्रयोग हुने सार्वजनिक जग्गा सम्बन्धी विवाद मंगलबार चर्किँदै गएपछि क्षेत्र तनावपूर्ण बनेको छ।

स्थानीय गुलाव ग्यारेज अगाडि रहेको सार्वजनिक स्थलमा लक्ष्मी पूजाको तयारी स्वरूप झण्डा गाडिएको घटनापछि दुई समुदायबीच विवाद सुरु भएको हो। हिन्दु समुदायका युवाहरूले नजिकिँदै गरेको लक्ष्मी पूजाको अवसरमा मूर्ति स्थापना र पूजाको तयारीका लागि उक्त स्थानमा झण्डा गाडेका थिए। तर, मुस्लिम समुदायले सो स्थानमा परम्परागत रूपमा मोहर्रम पर्वका अवसरमा ‘दाहा मेला’ आयोजना गर्दै आएको दाबी गर्दै उक्त स्थलमा पूजाको अनुमति नदिने अडान लिएपछि स्थिति तनावपूर्ण बनेको हो।

झण्डा उखाल्ने र जोगाउने क्रममा दुबै पक्षबीच सामान्य झडपसमेत भएको जानकारी प्राप्त भएको छ। घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरेको छ।

यसअघि पनि सार्वजनिक जग्गा अतिक्रमणको विषयमा दुबै समुदायबीच असहमति र विवाद देखिएको थियो। मुस्लिम समुदायको आरोप छ— “पहिलेदेखि हकभोग गर्दै आएको जग्गामा केही समूहले झण्डा गाडेर धर्मको नाममा दङ्गा भड्काउने प्रयास गरेका छन्।”

गत असार २० गते तत्कालीन प्रमुख जिल्ला अधिकारी भोला दहालको उपस्थितिमा दुबै पक्षबीच भएको छलफलमा सो विवादित संरचनालाई सार्वजनिक जग्गाबाट हटाउने निर्णय गरिएको थियो। तर, सो निर्णय कार्यान्वयन नहुँदा समस्या अझ गहिरिँदै गएको स्थानीयको भनाइ छ।

यसबीचमा, राजविराजमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार, स्थिति नियन्त्रणमा रहेको भए पनि तनावको सम्भावना नटर्ने भएकाले दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।

 

 

 

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more