श्रावण २९, बिरगंज । भारत–नेपाल सीमाक्षेत्रमा मानव तस्करीको ठूलो प्रयास विफल पार्दै एक किशोरीको उद्धार गरिएको छ । सीमामा सतर्क प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र सामाजिक संस्थाहरूको संयुक्त अभियानमा पश्चिमी चम्पारणका तीन जना तस्करलाई पक्राउ गरिएको हो।
रक्सौलको बाटा चोक नजिक शंकास्पद अवस्थामा भेटिएकी एक किशोरीबारे सूचना पाएपछि मानव तस्करी विरोधी इकाई (एएचटीयू)का प्रभारीको निर्देशनमा विशेष टोली परिचालन गरिएको थियो। ‘प्रयास जुभेनाइल एड सेन्टर’, ‘स्वच्छ रक्सौल’ लगायत संस्थाको सहकार्यमा गरिएको खोजी क्रममा मैत्री पुल नजिक भारतबाट नेपालतर्फ जाँदै गरेका तीन जना पुरुषलाई नियन्त्रणमा लिइयो।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरेन आलमले केही दिनअघि सामाजिक सञ्जालमार्फत किशोरीसँग सम्पर्क बढाएको र विवाहको प्रलोभन देखाएर घरबाट भगाएको खुलेको छ। हाजीपुरबाट रक्सौलसम्म ल्याइएकी किशोरीलाई योजनाअनुसार पोखरा पु¥याई साथीको होटलमा राख्ने र त्यसपछि देहरादून पठाउने तयारीमा उनीहरू रहेको प्रहरीले जनाएको छ।किशोरीको परिवारले छोरी बेपत्ता भएको उजुरी रामकृष्ण नगर प्रहरी चौकी, पटनामा दर्ता गराइसकेको पुष्टि भएपछि टोलीले तत्काल उद्धार कार्य सम्पन्न गरेको हो। उद्धार गरिएकी किशोरीलाई सुरक्षित स्थानमा राखिएको छ भने पक्राउ परेका तीनै अभियुक्तलाई थप अनुसन्धानका लागि हरैया प्रहरी चौकी, पूर्वी चम्पारणमा बुझाइएको छ।उद्धार अभियानमा एएचटीयू, एसएसबी, प्रयास संस्था र स्वच्छ रक्सौलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। यस घटनाले सीमाक्षेत्रमा मानव तस्करीको जोखिम अझै उच्च रहेको तथ्य उजागर गरेको छ।
















