म पनि च्याटजिपिटीको भरपुर उपयोग गर्छुः प्रधानमन्त्री ओली

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए ।

‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।’

तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए। उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्‍दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने बताए ।

उनले भने, ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो। मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ उनले भने, ‘त्यसैले आकर्षणको केन्द्र भयो। यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ।’

एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास

उनले प्रविधिको प्रयोगमा युवाहरुको आकर्षण बढाउनुपर्नेमा जोड दिए । ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन् गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ’ उनले भने ।

आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आईसीटी र एआई अघि बढाउने नीति सरकारले मन्त्रिपिषदबाट पास गरिसके समेत बताए । उनले भने, ‘म टेक्निकल क्षेत्रको मान्छे हैन, एआईको पनि हैन तर, कसरी आईसीटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास गरेका छौँ। यसमा धेरै काम गर्न आवश्यक छ।’

संसारमा जुनसुकै प्रविधि आए पनि मानव मष्तिष्कलाई कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले एआईसँग मान्छे डराएको देख्छु। तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन। यो सृष्टिलाई जित्न सक्दैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको मुहार फेर्न नयाँ पुस्ता सक्षम रहेको भन्‍दै सरकारले साथ दिनेसमेत प्रतिबद्धता व्यक्त गरे । नयाँ पुस्ताले अवसर पाए काम गर्न पनि सक्ने उनको विश्वास थियो । उनले भने, ‘हाम्रा सिङ्गै नयाँ पुस्ता ट्यालेन्ट छन् । अवसर पाए गर्नसक्छन् र त्यो अवसर लिने क्रममा सरकारले पूर्ण साथ दिन्छ।’

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply