५ भदौ, जनकपुरधाम।। जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मोडर्न नेपाल इङ्ग्लिस बोर्डिङ स्कुलमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुँदै आएको अतिरिक्त क्रियाकलाप कार्यक्रमअन्तर्गत रक्षाबन्धन पर्वलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र सुरक्षाको प्रतीकका रूपमा मनाइने रक्षाबन्धनको सन्दर्भमा आयोजित प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा विद्यार्थीहरूले धागो, सिमा, मोती, रंगीन कागज, गोंदलगायतका सामग्री प्रयोग गरी विभिन्न डिजाइनका रंगीचंगी राखी तयार पारेका थिए। विद्यार्थीहरूले आफूले बनाएका राखी रक्षाबन्धनका दिन आफ्ना दाजुभाइलाई बाँध्ने बताएका थिए।
प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, सीप तथा सांस्कृतिक चेतनाको अभिव्यक्तिसमेत गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक दीपक ठाकुरले उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने जानकारी दिए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृति बुझ्न, सीप प्रस्तुत गर्न तथा सिर्जनात्मक सोचको विकास गर्न प्रेरित गर्ने बताए।
“राखी आफैं बनाउनु केवल सिर्जनात्मक कार्य मात्र होइन, सम्बन्धप्रतिको भावनात्मक सम्मान पनि हो,” प्रधानाध्यापक ठाकुरले भने।
विद्यालयले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूमा सांस्कृतिक चेतना, आत्मविश्वास र सामाजिक मूल्यको विकासमा जोड दिँदै आएको जनाएको छ।


















