जनकपुरधाम । जनकपुरधामको गंगासागर दक्षिणी डिलस्थित प्रसिद्ध धार्मिक स्थल बाबा भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा मध्यराति चोरी भएको छ। चोरीमा संलग्न एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ भने अर्का एक जना फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मोतिफर रहमान मियाँ रहेका छन्। राति करिब १ः३० बजे दुई जना व्यक्ति मन्दिरभित्र प्रवेश गरी भूतनाथको चाँदीको जलढरी, नाग, चार देवताको चाँदीका मुकुटलगायत बहुमूल्य धातुका गरगहना चोरी गरिरहेका थिए।
मुकुट उखेल्ने क्रममा आवाज आएपछि मन्दिरको पूर्वतर्फ रहेको घरको छतमा सुतिरहेका युवाहरू ब्युँझिएका थिए। सुरुमा श्मशानघाट नजिकै भएकाले भूतको आवाज हुन सक्ने आशंका गरे पनि छतबाट हेर्दा मानिस र गहना देखेपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै मन्दिरबाट करिब १५० मिटर दूरीमा रहेको प्रहरी टोली करिब दुई मिनेटमै घटनास्थल पुगेको थियो। प्रहरीले चोरी गरी मन्दिरबाट बाहिरिँदै गरेका मियाँलाई पक्राउ गरेको हो। उनका अर्का साथी भने भाग्न सफल भएका छन्।


















