५ जेठ, काठमाडौ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले मधेशमा जनअसन्तुष्टि चुलिँदै गएको बताएका छन्। उनले मधेश ‘विस्फोटको स्थितिमा’ पुगेको भन्दै सरकारले तत्काल त्यसतर्फ ध्यान दिनुपर्ने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सिंहले मधेशलाई राज्यले निरन्तर उपेक्षा गरेको आरोप लगाए। उनले मधेशमा सरकारको उपस्थिति कमजोर देखिएको टिप्पणी गर्दै भने, “मधेश विस्फोटको स्थितिमा छ, विस्फोट हुनुभन्दा पहिले त्यसको उपचार गरौं।”
उनले मधेशको प्रतिनिधित्व राज्यका विभिन्न निकाय तथा नियुक्तिहरूमा कमजोर रहेको उल्लेख गर्दै यस्तो ढंगले राज्य सञ्चालन हुन नसक्ने बताए। नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतामा मधेशलाई पर्याप्त महत्व नदिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
सांसद सिंहले मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्ग लाई सरकारले प्राथमिकतामा नराखेको भन्दै आपत्ति जनाए। रास्वपाले मधेशबाट उल्लेखनीय मत प्राप्त गरे पनि त्यस क्षेत्रका पूर्वाधार र विकास योजनालाई बेवास्ता गरिएको उनको भनाइ थियो।
छलफलका क्रममा उनले संसद्मा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति पनि असन्तुष्टि जनाए। नयाँपनका नाममा पुराना संसदीय परम्परा र अभ्यासहरू भत्काउन नहुने भन्दै उनले जिम्मेवार ढंगले संसद् सञ्चालन गर्न आग्रह गरे।

















