भूराजनीतिक चलखेल नेपालमा पनि देखिन थाल्यो : प्रचण्ड

काठमाडौं, माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व प्रतिक्रियावादी शक्तिहरूको भूराजनीतिक चलखेल नेपालमा पनि देखिन थालेको बताएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालको ‘स्टन्ट’कै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा हस्तक्षेप गरिरहेको दाबी गर्दै त्यसको प्रभाव नेपालमा पनि परेको टिप्पणी गरे। विचार, सिद्धान्त, इतिहास र राजनीतिक विरासतविनाका व्यक्तिहरू सामाजिक सञ्जालको लोकप्रियताका आधारमा अगाडि आउन खोजिरहेको उनको भनाइ थियो।
यस्ता प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्पसहित गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा समर्पित सामूहिक शक्ति निर्माणका लागि नेपाली कम्युनिस्ट पार्टी गठन गरेर अघि बढिरहेको स्पष्ट पारे।
उनले विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको संघर्ष, सामाजिक विभेदको अन्त्य, सामाजिक न्याय स्थापना तथा आर्थिक विकास, उत्पादन र रोजगारी सिर्जनाजस्ता एजेन्डामा पार्टीले अघि सारेका नीति तथा कार्यक्रमले जनतामा आशा र भरोसा बढाउँदै लगेको दाबी गरे। जनताको वास्तविक समस्या समाधानमा केन्द्रित राजनीति नै वर्तमान आवश्यकता भएको उनको भनाइ थियो।
प्रचण्डले सामाजिक सञ्जाल र सूचना प्रविधिको युग भए पनि घर–घरमा पुगेर प्रत्यक्ष संवाद गर्ने शैलीभन्दा प्रभावकारी माध्यम अर्को नरहेको धारणा राखे। उनले नेकपालाई नयाँ विचार, स्पष्ट एजेन्डा र वैकल्पिक राजनीतिक दृष्टिकोण बोकेको शक्तिका रूपमा प्रस्तुत गर्दै यसको प्रभाव विस्तार हुँदै गएको बताए।
कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले तथा नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत विभिन्न क्षेत्रका व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more