२६ असार , महोत्तरी । महोत्तरी को एकडरा गाउपालिका कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ को बजेट भुक्तानीको माग राख्दै निर्माण व्यवसायी, उपभोक्ता समिति तथा आम सेवाग्राहीहरूले आज तालाबन्दी गरेका छन् । विकास निर्माणका कार्यहरू सम्पन्न गरिसक्दा पनि गाउँपालिकाले भुक्तानी दिन ढिलासुस्ती गरेको र जिम्मेवार कर्मचारीहरू नै कार्यालय छोडेर फरार भएको भन्दै आक्रोशित आन्दोलनकारीहरूले मुख्य प्रशासनिक भवनसहित सम्पूर्ण शाखामा तालाबन्दी गरेका हुन् ।
लामो समयको प्रतीक्षा र पटक–पटकको ताकेतापछि पनि कार्य सम्पन्न भइसकेका योजनाहरूको बिल भुक्तानी नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको आन्दोलनकारीहरूले बताएका छन् । भुक्तानीको सुनिश्चितता नहुन्जेलसम्म गाउँपालिकाको कुनै पनि शाखाको कामकाज अगाडि बढ्न नदिने र आन्दोलन जारी राख्ने उपभोक्ता समितिले चेतावनी दिएको छ ।
जिम्मेवार कर्मचारी दुई हप्तादेखि बेपत्ता
आर्थिक वर्ष मसान्तको सबैभन्दा व्यस्त र महत्त्वपूर्ण समय (असार २५ गते) मा पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित महत्त्वपूर्ण शाखाका प्रमुखहरू विगत दुई हप्तादेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । कार्यालय प्रमुख रामजी जोशी, योजना शाखा प्रमुख बिरेन्द्र मण्डल, प्राविधिक शाखा प्रमुख रोहित कुमार झा र लेखा शाखा प्रमुख निरज चौधरी लगायतका कर्मचारीहरू कार्यक्षेत्रमा नरहेको र उनीहरूलाई कार्यालयले उपलब्ध गराएको मोबाइल नम्बरहरू समेत ‘स्वीच अफ’ गरेर सम्पर्कविहीन बनेको आन्दोलनकारीहरूको आरोप छ ।
कारबाहीको माग
आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज गराउने नियतका साथ जनतालाई अनावश्यक दुःख दिने र कार्यक्षेत्र छोडेर भाग्ने कर्मचारीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत आन्दोलनकारीहरूले राखेका छन् ।
तालाबन्दी र आन्दोलनका कारण टाढा–टाढाबाट अन्य प्रशासनिक कामका लागि आएका सर्वसाधारण सेवाग्राहीहरू समेत मर्कामा परेका छन् । स्थानीयबासी र व्यवसायीहरूले यस विषयमा तत्काल गम्भीर छलफल गरी निकास निकाल्न, बाँकी भुक्तानी चुक्ता गर्न र गैरजिम्मेवार कर्मचारीहरूमाथि कडा कारबाही गर्न सम्बन्धित निकाय तथा ‘हेलो सरकार’ समक्ष जोडदार माग गरेका छन् ।

















