१२ भदौ, काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि भारतले आज तेस्रो चरणको मानवीय सहायता पठाएको छ। भारत सरकारले प्रभावित क्षेत्रमा आवश्यक पर्ने जेनेरेटर सेट, पानी शुद्धीकरण सामग्री, औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीसहित करिब १० टन राहत सामग्री नेपाल पठाएको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार राहत सामग्रीसँगै डाक्टर, प्यारामेडिक्स तथा टनेल रेस्क्युका लागि रेक्की गर्ने टोलीसहित ११ सदस्यीय टोली पनि नेपाल पठाइएको छ।
यसअघि भारतले दुईवटा विमानमार्फत नेपालमा राहत तथा उद्धार सामग्री पठाइसकेको थियो। तेस्रो चरणमा पठाइएको सामग्रीमा पोर्टेबल जेनेरेटर, वाटर प्युरिफायर, औषधि, खाद्यान्नलगायतका सामग्री समावेश छन्।
नेपाल सरकारको अनुरोधअनुसार भारतले टनेल रेस्क्यु टोली, मेडिकल सहायता तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने तयारीसमेत गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। टनेल रेस्क्यु टोली परिचालन गर्नुअघि प्रभावित क्षेत्रको भौगोलिक अवस्था र उद्धारको आवश्यकताबारे जानकारी लिन रेक्की टोली पठाइएको हो।
नेपालमा बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी रहेका बेला भारतले लगातार मानवीय सहायता उपलब्ध गराइरहेको छ। भारतले नेपालमा आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ।
नेपालमा विपद्का कारण उद्धार तथा राहत अभियान तीव्र भइरहेका बेला भारतबाट आएको यो तेस्रो चरणको सहयोगले प्रभावित क्षेत्रमा खानेपानी, ऊर्जा, स्वास्थ्य उपचार तथा खाद्यान्न व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


















