उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’- प्रधानमन्त्री साह

१२ भदौ, काठमाडौ। प्रधानमन्त्री बालेन शाहले जीवनरक्षा र सुरक्षित भविष्यका लागि प्रार्थना गर्दै विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले आज भएका उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी दिँदै विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको उल्लेख गरेका छन्। उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन्। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र आजको हवाई उद्धारबाट ५१७ जना रहेका छन्।

नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको र हालसम्म ९९ वटा हवाई उडान भएको प्रधानमन्त्री शाहले बताएका छन्।

राहततर्फ हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ। सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिँदै Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको जनाइएको छ।

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ।

विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा समेत विशेष समन्वय भइरहेको सरकारले जनाएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न Emergency Control Room सञ्चालन गरेको छ।

भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्। उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे सम्बन्धित पक्षसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। हालसम्म २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको सरकारले जनाएको छ।

यसैबीच सडक सम्पर्क पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ। काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ भने वैकल्पिक सडकमार्गमार्फत साना चारपाङ्ग्रे सवारी सञ्चालन सुरु भएको छ। काठमाडौं–टोखा–छहरे हुँदै धुन्चेसम्मको वैकल्पिक सडकसमेत सञ्चालनमा आएको जनाइएको छ।

सरकारले क्षतिग्रस्त पुलमा बाइपास निर्माण अघि बढाउनुका साथै नियमित सडक सम्पर्कका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरेको छ।

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ भने ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ।

दूरसञ्चारतर्फ प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा आएको सरकारले जनाएको छ। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा समेत पुनःस्थापित भएको छ।

राहत, उद्धार तथा पुनःस्थापनाका लागि १५ वटा स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाइएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार गर्ने काम अघि बढाइएको छ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको बताएका छन्।

यसै अवसरमा प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिएका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान पुर्‍याएको भन्दै उनले ढाँटलाई नेपाल सरकारका तर्फबाट धन्यवादसमेत दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more