बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीबारे भ्रामक अफवाह नफैलाउन प्रहरीको आग्रह

२३ भदौ, काठमाडौ ।  नेपाल प्रहरीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोज, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मीबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक र तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि नारायण काफ्लेले विज्ञप्ति जारी गर्दै बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायका सुरक्षाकर्मी निरन्तर खोज, उद्धार, राहत र पुनःस्थापनामा खटिएको बताएका छन्।

प्रहरीका अनुसार कठिन परिस्थितिमा सुरक्षाकर्मीले आफ्नो ज्यानको समेत प्रवाह नगरी विपद्मा परेका नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायत मानवीय कार्य गरिरहेका छन्।

तर पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफैंले लिएको, वितरण नगरेको तथा सद्गती गरेको भन्ने आशयका भ्रामक तथा तथ्यहीन अफवाह फैलाइएको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले आफ्नो कार्यालयमा कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पार्दै विपद्को समयमा उद्धार तथा राहतमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पार्ने र आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य भएको जनाएको छ।

प्रहरीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका सुरक्षाकर्मी विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न सबैमा आग्रह गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more