प्रधानमन्त्री बालेन शाह : भोटेकोशी बाढी प्रभावित आयोजना क्षेत्रमा खोज तथा उद्धार अन्तिमसम्म जारी राख्छौँ

२२ भदौ , काठमाडौ  । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहले भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा करिब ५ हजार ६ सय मिटर उचाइबाट गएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहितको आकस्मिक बाढी आएको बताएका छन्। बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको र आयोजना क्षेत्रमा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै प्रभावित आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। कठिन भौगोलिक अवस्था, दलदल र सुरुङभित्रको जोखिमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिइएको उनले बताएका छन्।

रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना तथा पावरहाउस र भूमिगत पावरहाउसका अधिकांश सामग्रीमा क्षति पुगेको छ। उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि मानिस फेला नपरेको प्रधानमन्त्री शाहले बताएका छन्। अहिले हेलिकप्टरबाट मिनी एस्काभेटर पुर्‍याएर खोजी भइरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र करिब ६० मिटर प्रवेश गरी दलदल तथा चट्टान हटाउँदै खोजी गरेको थियो। ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल बनाएर खोजी गर्दा दुई शव फेला परेका छन्।

चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र करिब ९० मिटर प्रवेश गरी दुई शव फेला पारेको जनाइएको छ। खोजीलाई तीव्र बनाउन बबक्याटलगायतका एस्काभेटर प्रयोग भइरहेका छन्।

त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले खोजी गरेको छ। सुरुङभित्र करिब २०० मिटर प्रवेश गरेपछि भेटिएको तालमा थर्मल ड्रोन प्रयोग गरी खोजी गरिएको थियो। खोजीका क्रममा एक शव फेला परेको र भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप दुई शव फेला पारिएको प्रधानमन्त्री शाहले बताएका छन्।

त्रिशूली–३ ‘ए’ आयोजनामा सुरुङको मुख पत्ता लगाउन ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो। करिब २५ मिटर उत्खननपछि विद्युत् तारका लागि प्रयोग हुने सुरुङ भेटिएपछि त्यसैमार्फत उद्धार टोली प्रवेश गरेको थियो। भदौ १९ गते दुई जनाको उद्धार गरिएको र एक शव फेला परेको छ। अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेराबाट खोजी भइरहेको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना र आयोजनाका कर्मचारीले खोजी जारी राखेका छन्। टोली अडिट सुरुङको करिब १.७ किलोमिटरभित्र पुगेको र त्यहाँ एउटा गाडी फेला परेको छ। बाढीले आयोजनाका छ वटा आवासीय तथा एउटा कार्यालय भवन पुरिएका छन्। ती संरचना खोज्न १५ मिटर गहिराइसम्म उत्खनन गरिएको छ।

प्रधानमन्त्री शाहले प्रभावित आयोजना क्षेत्रमा अझै धेरै मानिस सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। खोजीमा भारत, चीन र कोरियालगायत मित्रराष्ट्रका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेको उनले उल्लेख गरेका छन्।

“हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ। स्रोत, साधन र समयको सीमितताका बाबजुद खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्नेछौँ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले विपद्को कठिन अवस्थामा खटिएका सुरक्षाकर्मी तथा सहयोगी विशेषज्ञ टोलीप्रति आभार व्यक्त गर्दै प्रभावित परिवारलाई धैर्य गर्न आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more