२२ असार , काठमाडौ । पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने प्रदेशमन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जनताको काम नगर्ने वा नागरिकलाई अपहेलना गर्ने जनप्रतिनिधिबारे जानकारी दिन आग्रह गरे।
उनले जनप्रतिनिधि तथा मन्त्रीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा लापरबाही गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताए।
“यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी,” उनले भने।
लम्सालले नागरिकलाई दुःख दिने, जिम्मेवारी पूरा नगर्ने वा सार्वजनिक सेवामा लापरबाही गर्ने व्यक्तिका बारेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरे।
यसअघि पनि उनले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका थिए, जसको व्यापक आलोचना भएको थियो। पछिल्लो पटक मन्त्री र मेयरमाथि कारबाही गर्ने चेतावनीसहितको उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ भने त्यसप्रति मिश्रित प्रतिक्रिया देखिएको छ।

















