प्रहरीकै अगाडि यातायात कार्यालय प्रमुखले सेवाग्राहीलाई कुटैको भिडियो सार्वजनिक

२२ असार, जनकपुरधाम — यातायात व्यवस्था कार्यालय बारा परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाबारे मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले चासो देखाएको छ।

लाइसेन्स सम्बन्धी कामका लागि कार्यालय पुगेका एक सेवाग्राहीसँग विवाद भएपछि निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यसहितका कर्मचारीले कुटपिट गरेको आरोप लागेको हो। कार्यालय प्रमुखकै कार्यकक्षभित्र भएको उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। भिडियो सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि उठिरहेको छ।

भिडियोमा के देखिन्छ?

भाइरल भिडियोमा कार्यालय प्रमुख चिन्तन आचार्य आफ्नो कार्यकक्षमा बसेको देखिन्छ। कोठाभित्र दुई जना प्रहरी, एक कर्मचारी तथा एक सेवाग्राही उपस्थित छन्। सेवाग्राहीले आफ्नो हातमा रहेको कार्ड देखाउँदै कार्यालय प्रमुखसँग संवाद गरिरहेको देखिन्छ।

केहीबेरको कुराकानीपछि सेवाग्राहीले मोबाइल निकालेर भिडियो खिच्न खोजेजस्तो देखिएलगत्तै वातावरण तनावपूर्ण बन्छ। त्यसपछि ढोकामा रहेका कर्मचारीले सेवाग्राहीलाई धकेलेका छन् भने कार्यालय प्रमुख आचार्य आफैं उठेर सेवाग्राहीको घाँटी समातेको भिडियोमा देखिन्छ। त्यसपछि अर्का कर्मचारी पनि कुटपिटमा संलग्न भएको देखिन्छ।

उपस्थित प्रहरीले बीचमा हस्तक्षेप गरी छुट्याउने प्रयास गरेका छन्। केहीबेरपछि सेवाग्राहीको मोबाइल खोसेर फिर्ता दिइएको तथा उनलाई धम्क्याइएको दृश्य पनि भिडियोमा देखिन्छ।

कार्यालय प्रमुखको स्पष्टीकरण

प्रारम्भिक जानकारीअनुसार उक्त घटना गत फागुनको तेस्रो सातामा भएको हो।

निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा हुन्। उनले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएको र कर्मचारीसँग दुर्व्यवहार तथा गालीगलौज गरेपछि विवाद भएको आचार्यको दाबी छ।

आचार्यले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो घटनाको पूर्ण दृश्य नभई सानो अंश मात्रै काटेर सार्वजनिक गरिएको दाबी गरेका छन्। साथै, घटना लगत्तै दुवै पक्षबीच मिलापत्र भइसकेको पनि उनले बताएका छन्।

मन्त्रालयको चासो

घटनाबारे मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले समेत चासो व्यक्त गरेको छ। मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले सामाजिक सञ्जालमार्फत भिडियो हेरेको र घटनाबारे मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय लिने बताए।

पृष्ठभूमि

निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य अधिकृत छैटौँ तहका कर्मचारी हुन्। उनी गत पुसमा यातायात व्यवस्था कार्यालय जनकपुरबाट सरुवा भई बारा कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्न आएका थिए। यसअघि उनी करिब पाँच वर्ष जनकपुर कार्यालयमा तथा त्यसअघि यातायात व्यवस्था कार्यालय लहानमा कार्यरत थिए।

यस घटनापछि कार्यालयभित्र सेवाग्राहीको सुरक्षा, कर्मचारीको आचरण तथा सार्वजनिक सेवा प्रवाहमा जवाफदेहितामाथि प्रश्न उठेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र मन्त्रालयको आधिकारिक निर्णय आउन बाँकी रहेको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more