अल–निनो सशक्त बन्दै, विश्वभर खडेरी र अतिवृष्टिको जोखिम बढ्ने चेतावनी

२२ असार , काठमाडौ ।  प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने प्राकृतिक जलवायु घटना अल–निनो सन् २०२६ मा तीव्र रूपमा सशक्त बन्दै गएको छ। विश्व मौसम संगठन (WMO) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म बलियो अल–निनो विकसित हुने सम्भावना अत्यधिक रहेको छ, जसले विश्वभर मौसम प्रणालीमा व्यापक प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।
सामान्य अवस्थामा पूर्वी प्रशान्तबाट पश्चिमतर्फ बहने व्यापारिक हावाले तातो पानीलाई इन्डोनेसिया र अष्ट्रेलियातर्फ लैजान्छ। तर अल–निनोको समयमा यी हावा कमजोर हुने वा उल्टो दिशामा बहन थालेपछि प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा करिब २ डिग्री सेल्सियस वा त्यसभन्दा बढीले बढ्न सक्छ।
यसको प्रभाव समुद्रमा मात्र सीमित नरही विश्वव्यापी तापक्रम, वर्षाको ढाँचा र हावाको बहावमा समेत पर्छ। तातो समुद्री सतहले वायुमण्डलमा बढी ताप उत्सर्जन गर्ने भएकाले विश्व तापक्रम थप बढ्ने र जलवायु परिवर्तनसँग मिलेर यसको असर अझ गम्भीर बन्न सक्ने WMO ले जनाएको छ।
रिपोर्टअनुसार बलियो अल–निनोका कारण प्रशान्त महासागरको मध्य तथा पूर्वी क्षेत्रमा अत्यधिक वर्षा हुन सक्छ। तर भारतीय उपमहाद्वीप, अष्ट्रेलिया, इन्डोनेसिया, उत्तरी दक्षिण अमेरिका तथा अफ्रिकाका केही क्षेत्रमा सामान्यभन्दा कम वर्षा र खडेरीको जोखिम बढ्ने अनुमान गरिएको छ। दक्षिणी अफ्रिकाका केही क्षेत्रमा भने अत्यधिक वर्षा हुने सम्भावना रहेको छ भने उत्तरी भागमा खडेरी पर्न सक्ने चेतावनी दिइएको छ।
विज्ञहरूले अल–निनोको प्रभावका कारण विश्वका धेरै क्षेत्रमा चरम मौसमी घटना बढ्न सक्ने भएकाले सम्बन्धित देशहरूले पूर्वतयारी र सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more