५ चैत, जनकपुरधाम। — फकिरा महतो फुटपाथ खाली गराउने अभियानमा स्वयं सडकमा उत्रिएका छन्। जनकपुरधामको सडकपेटी अतिक्रमण हटाउने उद्देश्यसहित मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री महतो बुधबार बिहानैदेखि सक्रिय देखिएका हुन्।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा मन्त्री महतोको नेतृत्वमा फुटपाथ खाली गराउने अभियान सञ्चालन गरिएको हो।
पर्यटकीय नगरीको रूपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले सरसफाइ र सौन्दर्यीकरण अभियान अघि बढाइरहेको सन्दर्भमा गृहमन्त्री महतोले पहिलो चरणमा मठ–मन्दिर क्षेत्र आसपासका सडकपेटी खाली गराउने योजना अघि सारेका छन्। सोही अनुसार आज फुटपाथमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई वैकल्पिक स्थानमा सर्न अनुरोध गरिएको उनले जानकारी दिएका छन्।

















