२ भदौ, काठमाडौ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा दुई देशका सुरक्षा निकायबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आउनुभएको हो ।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशका सेनाबीचको आपसी सहकार्य, सैन्य सम्बन्ध तथा पारस्परिक हितका विषयमा छलफल भएको थियो ।
भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।


















