२ भदौ, काठमाडौ । अग्रगामी मोर्चाले लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्यहरूलाई मन्त्री बनाइएकोप्रति आपत्ति जनाएको छ।
मोर्चाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत जसपा नेपालको निर्णय र निर्देशनविपरीत नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले जसपाका सांसदलाई मन्त्री पदको शपथ गराएको भन्दै आपत्ति जनाएको हो। मोर्चाले उक्त कदमको घोर भर्त्सना र निन्दा गर्दै तत्काल सच्याउन माग गरेको छ।
मोर्चाका प्रवक्ता डा. चन्द्रकान्त राउतद्वारा जारी विज्ञप्तिमा भदौ १ गते लुम्बिनी प्रदेशसभामा जसपाका सांसदहरूलाई सरकारको पक्षमा मतदान गराइएको विषयसमेत संसदीय व्यवस्था, लोकतान्त्रिक प्रणालीको मूल्य, मान्यता र मर्यादाविपरीत भएको उल्लेख छ।
मोर्चाले सरकारको पक्षमा मतदान गराउने कार्यलाई ‘अनैतिक तथा असंसदीय’ भन्दै यस्तो कार्य तत्काल सच्याउन आग्रह गरेको छ।
यसैबीच, मंगलबार बसेको अग्रगामी मोर्चाको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको छ।
मोर्चाले प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरूले संसदीय व्यवस्था, लोकतान्त्रिक मूल्य–मान्यता तथा आफ्नै राजनीतिक निर्णय र निर्देशनको पालना गर्नुपर्नेमा जोड दिएको छ।


















