६ अषाढ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अभियानलाई निरन्तरता दिएका छन्। अपी हिमाल बेसक्याम्पको भिडियो सार्वजनिक गरेर चर्चा बटुलेको एक सातामै उनले यसपटक मकालु बेसक्याम्पको मनमोहक दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले सार्वजनिक गरेको भिडियोमा मकालु क्षेत्रको आकर्षक हिमाली दृश्य, पदयात्रा मार्ग तथा यात्रासम्बन्धी विस्तृत जानकारी समेटिएको छ। भिडियोमार्फत उनले पर्यटकलाई गन्तव्यसम्म पुग्ने रुट र आवश्यक विवरणसमेत उपलब्ध गराएका छन्।
सरकार प्रमुख स्वयं पर्यटन प्रवर्द्धनमा सक्रिय रूपमा लाग्नु सकारात्मक सन्देश भएको पर्यटन व्यवसायीहरूको भनाइ छ। डिजिटल माध्यममार्फत नेपालको हिमाली सौन्दर्य विश्वसामु प्रस्तुत गरिँदा विदेशी पर्यटक आकर्षित हुने विश्वास व्यक्त गरिएको छ।
हालै सार्वजनिक गरिएका अपी हिमाल र मकालु बेसक्याम्पसम्बन्धी सामग्रीले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। यसले नेपालका कम प्रचारित तर अत्यन्त आकर्षक पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार सरकारले पूर्वाधार विकास, सहज पहुँच र प्रभावकारी प्रचारलाई सँगसँगै अघि बढाउन सके यस्ता पहलले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।



















