प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि कार्यतालिका स्वीकृत, मतदान फागुन २१ गते हुने

असोज २०, काठमाडौ ।— आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनका सबै चरणलाई समयबद्ध रूपमा सम्पन्न गर्न विस्तृत कार्यतालिका अनुमोदन गरिएको जानकारी दिएको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म गरिनेछ। दर्ता आयोगमा पहिल्यै कायम रहेका राजनीतिक दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ। त्यसैले, निर्वाचनमा भाग लिन इच्छुक सरोकारवालाहरूले मिति २०८२ माघ ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने सूचनासमेत आयोगले दिएको छ।

पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना गरिनेछ भने, समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना हुने कार्यक्रम छ। यस प्रणालीअन्तर्गत पौष १८ र १९ गते बन्दसूची (Closed List) पेश गर्नुपर्नेछ।

आयोगको कार्यतालिकाअनुसार फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार अवधि रहनेछ। त्यसपछि फागुन १९ र २० गते प्रचारप्रसार निषेध अवधि लागु हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि दुवै प्रणालीका मतपेटिका संकलन गरी मतगणना प्रक्रिया प्रारम्भ गरिनेछ।

आयोगले निर्वाचन तयारीका क्रममा राजनीतिक दल, सरोकारवाला निकाय र सुरक्षा एजेन्सीसँग निरन्तर परामर्श र समन्वय गर्ने जनाएको छ। साथै, निष्पक्ष, स्वच्छ र पारदर्शी निर्वाचन सुनिश्चित गर्न सम्पूर्ण पक्षको सहकार्य अपरिहार्य रहेको आयोगको भनाइ छ।

आयोगले समयमै तयारी सम्पन्न गर्न सबै दल, उम्मेदवार र मतदातालाई कानूनी प्रक्रिया र समयसीमाको पालना गर्न आग्रह गर्दै निर्वाचनलाई सफल र विश्वसनीय बनाउन संयुक्त प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

    Read more

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more