असोज २०, जनकपुरधाम। — जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच मिति २०८२ असोज १७ र १९ गते भएको विवाद र झडपको विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर महत्वपूर्ण निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा बसेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, दुवै धार्मिक समुदायका अगुवा र सुरक्षासम्बन्धी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा हालै दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न विवादका कारण सामाजिक सद्भावमा खलल पुगेको घटनाको गम्भीर समीक्षा गरिएको जनाइएको छ।
बैठकले घटनाको पुनरावृत्ति हुन नदिनका लागि सबै पक्षले जिम्मेवारीपूर्वक आ-आफ्नो भूमिका निर्वाह गर्ने सहमति जनाएको छ। यसअघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०७८ कार्तिक २९ गते तेलिया पोखरी विवाद व्यवस्थापनसम्बन्धी बैठकमा भएका निर्णयहरूलाई पनि पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
सर्वदलीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, धार्मिक समूह र नागरिक समाजका प्रतिनिधिहरूले आपसी विश्वास र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।
बैठकले देवपुरा रुपैठा क्षेत्रमा कुनै पनि व्यक्ति वा समूहले धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका गतिविधि नगर्ने वा नगराउने प्रतिवद्धता जनाएको छ। साथै, धर्मको नाममा गैरकानूनी तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न सबै पक्षले पूर्ण सहयोग गर्ने निष्कर्ष निकालिएको छ।
प्रशासनले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ। यसबीच स्थानीय स्तरमा शान्ति, सद्भाव र आपसी सहकार्य कायम राख्नका लागि संयुक्त प्रयास जारी राख्ने सहमति समेत बैठकमा भएको छ।

















