२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम सार्वजनिक हुँदै जाँदा मधेशकेन्द्रित राजनीतिक दलहरूको प्रतिनिधित्व नयाँ संसदमा लगभग शून्य हुने संकेत देखिएको छ। प्रत्यक्षतर्फका १६५ सिटमध्ये मधेशकेन्द्रित दलहरू निर्णायक जितको अवस्थामा नदेखिएपछि उनीहरूको उपस्थिति निकै कमजोर हुने स्पष्ट भएको हो।
हालसम्मको मतपरिणाम अनुसार मधेश क्षेत्रका कुल ३२ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ सिट जितिसकेको छ भने थप १९ सिटमा पनि रास्वपाकै उम्मेदवार फराकिलो अग्रतासहित अगाडि रहेका छन्। बाँकी सिटमध्ये धनुषा–१ मा नेकपा तथा रौतहट–२ मा नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन्।
जसपा नेपाल, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवारहरू अधिकांश क्षेत्रमा प्रतिस्पर्धाबाट बाहिरिएको देखिएको छ। जसपा नेपाल केही क्षेत्रमा दोस्रो स्थानमा रहे पनि धेरै स्थानमा पाँचौं वा छैटौं स्थानमा झरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीको अवस्था पनि धेरै क्षेत्रमा कमजोर देखिएको छ।
समानुपातिकतर्फ पनि मधेशकेन्द्रित दलहरूको अवस्था सन्तोषजनक छैन। कुल ११० सिट रहेको समानुपातिक प्रणालीमा सिट पाउनका लागि कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनुपर्ने कानुनी व्यवस्था छ। तर हालसम्म गणना भएको मतअनुसार जसपा नेपालले करिब २ हजार ४ सय, जनमत पार्टीले करिब १ हजार ८ सय र राष्ट्रिय मुक्ति पार्टीले करिब १ हजार ७ सय मत मात्र प्राप्त गरेका छन्।
यसपटक मधेशका प्रमुख नेताहरू समेत पराजयको नजिक पुगेका छन्। सप्तरी–३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रास्वपाका उम्मेदवार अमरकान्त चौधरीभन्दा १० हजारभन्दा बढी मतले पछाडि छन्। सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रास्वपाका उम्मेदवार रामजी यादवभन्दा ७ हजारभन्दा बढी मतले पछाडि परेका छन्।
त्यस्तै महोत्तरी–२ मा जसपा नेपालका नेता शरतसिंह भण्डारी रास्वपाका दीपककुमार साहसँग २२ हजारभन्दा बढी मतले पछाडि छन् भने महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरकी छोरी मीनाक्षी ठाकुर पनि रास्वपाका उम्मेदवार उज्ज्वलकुमार झाभन्दा निकै पछि परेकी छन्। नवलपरासी–१ मा जसपा नेता हृदयेश त्रिपाठी पनि रास्वपाका उम्मेदवार विक्रम खनालभन्दा १५ हजारभन्दा बढी मतले पछाडि छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार देशभर देखिएको नयाँ राजनीतिक लहर र मतदाताको परिवर्तनको चाहनाले मधेशकेन्द्रित दलहरूको प्रभाव कमजोर भएको हो। विश्लेषक तुलानारायण साहका अनुसार मतदाताले पुराना दलभन्दा नयाँ राजनीतिक शक्तिलाई अवसर दिन खोजेको देखिएको छ।
मधेशको राजनीतिमा २०६३ को मधेश आन्दोलनपछि मधेशकेन्द्रित दलहरू शक्तिशाली बनेका थिए। २०६४ को संविधानसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले ५२ सिट जित्दै ठूलो शक्ति प्रदर्शन गरेको थियो। तर पछिल्ला वर्षहरूमा दलहरूबीचको विभाजन, आन्तरिक विवाद तथा नयाँ राजनीतिक शक्तिको उदयका कारण ती दलहरूको प्रभाव क्रमशः घट्दै गएको देखिन्छ।
यसपटकको निर्वाचन परिणामले मधेशको राजनीतिक नक्सामा ठूलो परिवर्तन आएको संकेत दिएको छ। दशकौंसम्म संसदमा प्रभाव राख्दै आएका मधेशवादी दलहरू यसपटक भने लगभग शून्य अवस्थामा पुग्ने अवस्था देखिएको छ।

















