पश्चिम एसियामा युद्ध चर्कियो : दुबईमा इरानी ड्रोन हमला, तेहरानमा इजरायली बमबारी

२४ फागुन,काठमाडौ ।  पश्चिम एसियामा जारी भीषण संघर्षले खतरनाक मोड लिएको छ। इजरायल र अमेरिकाले संयुक्त रूपमा सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’ को आठौँ दिनसम्म आइपुग्दा युद्धको आगो खाडी क्षेत्रसम्म फैलिएको छ, जसले अन्तर्राष्ट्रिय तनावलाई चरममा पुर्‍याएको छ।
ताजा घटनाक्रमअनुसार संयुक्त अरब इमिरेट्सको दुबईमा इरानले ड्रोन आक्रमण गरेको बताइएको छ। उक्त आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। यस घटनाले सामान्यतया शान्त मानिने यूएईजस्ता क्षेत्रमा पनि सुरक्षालाई लिएर गम्भीर चिन्ता बढाएको छ।
यता इजरायलले इरानमाथि हवाई आक्रमणलाई तीव्र बनाएको छ। नयाँ हवाई हमलापछि इरानको राजधानी तेहरान शक्तिशाली विस्फोटले दहलिएको छ। आक्रमणमा मुख्यत: सैन्य संरचना र रणनीतिक ठेगानालाई निशाना बनाइएको बताइएको छ।
यसैबीच तेहरानले केही अमेरिकी सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। तर वाशिङ्टनले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै यसलाई इरानको ‘दुष्प्रचार’ मात्र भएको जनाएको छ।
कूटनीतिक मोर्चामा भने इरानका विदेशमन्त्री अब्बास अराघचीले क्षेत्रीय तनाव नियन्त्रणमा राख्न साउदी अरेबियासँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। उनका अनुसार युद्ध अझै फैलिन नदिन क्षेत्रीय स्तरमै समन्वय गर्ने प्रयास भइरहेको छ।
पश्चिम एसियामा युद्धको दायरा विस्तार हुँदै जाँदा अन्तर्राष्ट्रिय समुदायमा गहिरो चिन्ता बढेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more