नेपालमा पहिलोपटक बिजुली नकाटी विद्युत् लाइन मर्मत सुरु

१४ असार , काठमाडौ । — नेपाल विद्युत् प्राधिकरणले देशमै पहिलोपटक बिजुली आपूर्ति अवरुद्ध नगरी विद्युत् लाइन मर्मत गर्ने ‘लाइभ लाइन मर्मत’  प्रणालीको औपचारिक सुरुवात गरेको छ।

प्राधिकरणले लुम्बिनी प्रदेश कार्यालयबाट यो प्रविधिको सुरुवात गरेको हो। विशेष सुरक्षा उपकरण र प्रविधिको प्रयोग गरी विद्युत् प्रवाह भइरहेकै अवस्थामा लाइनको मर्मत सम्भार गरिएको प्राधिकरणले जनाएको छ।

यस प्रविधिअन्तर्गत पहिलो परीक्षणका रूपमा बुटवल–११ स्थित कालिकानगर क्षेत्रमा रहेको ११ केभी विद्युत् लाइन सफलतापूर्वक मर्मत गरिएको छ। परीक्षण सफल भएसँगै आगामी दिनमा यो प्रणालीलाई देशका अन्य क्षेत्रमा पनि विस्तार गर्ने तयारी प्राधिकरणले गरेको छ।

प्राधिकरणका अनुसार ‘लाइभ लाइन मर्मत’ प्रणाली लागू भएपछि मर्मतका कारण हुने योजनाबद्ध विद्युत् कटौती तथा लोडसेडिङको आवश्यकता उल्लेखनीय रूपमा घट्नेछ। यसले उपभोक्ताले बिना अवरोध निरन्तर र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्राधिकरणले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्युत् सेवाको विश्वसनीयता बढाउने, मर्मत कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउने तथा उपभोक्ताको असुविधा न्यून गर्ने लक्ष्यका साथ यो प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    नयाँ प्रणालीबाट राहदानी छपाइ सुरु, प्रारम्भिक चरणमा केही ढिलाइ हुन सक्ने

    Read more

    नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र, थपिँदैछन् यी सुविधा

    Read more