१८ फागुन, काठमाडौ । ओमप्रकाश अर्याल ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको बताएका छन्। निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिन नेपालगञ्ज पुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए। “बाँके जिल्लाको निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थासहित रणनीति बुझ्ने क्रममा यहाँ आएको हुँ। सम्बद्ध सुरक्षा प्रमुखहरूबाट समग्र जानकारी प्राप्त भयो। सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु,” उनले भने।
गृहमन्त्री अर्यालका अनुसार जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाइएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै पूर्वतयारी पूरा गरिएको उनको भनाइ छ।
देशव्यापी रूपमा सुरक्षा अवस्था सुदृढ रहेको उल्लेख गर्दै उनले उच्च जनसहभागितासहित उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे। “कहीँकतैबाट निर्वाचन बिथोल्ने प्रयास हुनसक्छ, तर राजनीतिक दल होइन, केही समूह त्यस्ता गतिविधिमा सक्रिय छन्,” उनले भने, “त्यस्ता समूहलाई नियन्त्रणमा लिइसकेका छौँ र कानुनविपरीत गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिनेछ।”
बाँके जिल्लामा धार्मिक सहिष्णुताको वातावरण कायम राख्न स्थानीय नेतृत्व सफल भएको भन्दै उनले प्रशंसा गरे। सञ्चारकर्मीको प्रश्नमा ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेको जानकारी पनि दिए।
गृहमन्त्रीको भ्रमण टोलीमा राजकुमार श्रेष्ठ, दानबहादुर कार्की र राजु अर्याल लगायत उच्चपदस्थ सुरक्षा अधिकारीहरू सहभागी थिए। सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आवश्यक सबै संयन्त्र परिचालन गरिसकेको जनाएको छ।

















