नाइट बसभित्रै सुत्केरी

१९ जेठ, काठमाडौं । काठमाडौं-भैरहवा चल्ने रात्रि बसमा यात्रा गरिरहेका बेला एक महिलाले बच्चा जन्माएकी छन् । आइतबार काठमाडौंबाट भैरहवा जाँदै गरेको लु२ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा यात्रारत महिलाले राति करिब पौने ११ बजे बसभित्रै बच्चा जन्माएकी हुन् ।

ती महिला श्रीमानसहित रुपन्देहीको खैरहनी जाँदै थिइन् । काठमाडौंबाट छुटेको केही समयमै उनलाई व्यथा लागेको थियो । चालकले नौबिसे पुगेर बस रोकेपछि उनले बसभित्रै छोरालाई जन्म दिएको बस धनी अनुप शर्माले बताए ।

शर्माले अनलाइनखबरसँग भने, ‘उहाँको डेलिभरीको समय आएको कुरा हामीलाई थाहा थिएन । पेट दुख्न थालेपछि बस रोकिदिनुस् भन्नुभयो । बीचमा रोक्नेजस्तो ठाउँ पनि थिएन । नौबिसे पुगेपछि बस रोकियो । अरु सबै प्यासेन्जरलाई ओराल्यौं । अनि बसभित्रै भएका केही महिलाहरुको सहयोगमा उहाँले राति पौने ११ बजेतिर छोरो जन्माउनुभयो ।’

त्यसपछि बसकै स्टाफहरुले सुत्केरी र शिशुलाई स्थानीयको सहयोगमा नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । त्यहीँ सालनाल काटेर एम्बुलेन्समार्फत् काठमाडौं पठाएपछि बस गन्तव्यतर्फ लागेको थियो ।

शिशुका बुवा राजकुमार अधिकारीले अहिले आमा र बच्चा दुवैको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको बताए । उनका अनुसार चिकित्सकले दिएको डेटभन्दा १०/१५ दिन अघि बच्चा जन्मिएको छ ।

‘मेरो ससुराली पूर्वी नवलपरासीको अरुणखोलामा हो । ससुरालीमा सुत्केरी हुनुहुँदैन भन्ने गरिएकाले बुटवल खैरेनीमा रहेको दिदीसासुको घर जाँदै थियौं । तर, राति ११ः४० बजे बसभित्रै बच्चा जन्मियो’, अधिकारीले अनलाइनखबरसँग भने ।

बच्चाको पछाडिको भागमा फोका उठेको जस्तो देखिए पनि डाक्टरहरुले आमा र बच्चाको अरु स्वास्थ्य सामान्य रहेको जानकारी दिएको उनले बताए । बस धनी, बसका स्टाफ र यात्रीहरुले सहयोग गरेको उनले बताए ।

बस धनी अनुप शर्माले आफूले यात्रीको सक्दो सहयोग गरेको बताए । ‘बच्चाको अवस्था कस्तो छ भनेर पनि बुझेको थिएँ । ठिकै छ भन्ने कुरा थाहा पाएँ । सानो सहयोग गर्न पाउँदा एकदम खुसी लागेको छ’, उनले भने ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more

    One thought on “नाइट बसभित्रै सुत्केरी

    Leave a Reply