धनुषामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्मको कारबाही हुने

२३ माघ , जनकपुरधाम। धनुषा जिल्लामा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार तथा राजनीतिक दलमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ। कार्यालयका अनुसार उल्लङ्घन भएमा पहिलो चरणमा सचेत गराइने, प्रचार सामग्री जफत गरिने र स्पष्टीकरण सोधिने व्यवस्था रहेको छ। गम्भीर प्रकृतिको उल्लङ्घनमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजसमेत गर्न सकिने कानुनी प्रावधान रहेको जनाइएको छ।
निर्वाचन आचारसंहिता अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बुद्धराम मल्ललाई अधिकृत तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आयोजित छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले आचारसंहिता राजनीतिक दलहरूको सहमतिमा तयार भएको उल्लेख गर्दै यसको उल्लङ्घनले उम्मेदवार मात्र नभई सम्बन्धित दलको प्रतिष्ठामा समेत नकारात्मक प्रभाव पार्ने बताए।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उम्मेदवार, सरकारी कर्मचारी, राजनीतिक दल तथा आम नागरिक सबैले आचारसंहिता पालना गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै जिल्लामा माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको जानकारी दिए।
छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more