देशभर मनसुन सक्रिय, मधेशसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

२४ असार , काठमाडौ ।  देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान, मधेश प्रदेश तथा कर्णालीका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हुरीबतास चल्न सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई भूभागका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more