१६ असार , काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूको खानाको गुणस्तर र सरसफाइको नियमित अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै अनुगमनलाई केवल औपचारिक प्रक्रियामा सीमित नराखी परिणाममुखी बनाउन निर्देशन दिएका हुन्।
परिपत्रमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अस्वच्छ खाना बिक्री गर्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही गर्न भनिएको छ।
मन्त्रालयले पछिल्लो समय देशभरका केही होटल तथा रेष्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यस्तै, नागरिकका गुनासा सहज रूपमा दर्ता गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तत्काल गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रुत सेवा डेस्क) स्थापना गर्न पनि निर्देशन दिइएको छ।
नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न आग्रह गर्दै मन्त्रालयले स्थानीय प्रशासनप्रति नागरिकको विश्वास कायम राख्न सानातिना समस्याका लागि केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।

















