३० असोज , काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको वर्तमान राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक अवस्था अन्योल र अलमलपूर्ण रहेको टिप्पणी गरेका छन् ।
बडादसैँ २०८३ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले देशको अवस्था अस्तव्यस्त हुनुको कारणबारे प्रश्न उठाएका हुन् । निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक सन्देशमा उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउन, प्रजातान्त्रिक आधार बलियो बनाउन र अर्थतन्त्र उकास्न आवश्यक रहेको बताएका छन् ।
‘यतिखेर हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा किन देखिन्छ ?’ उनले सन्देशमा प्रश्न गरेका छन् ।
पूर्वराजा शाहले विद्यमान समस्यालाई सच्याउँदै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । बदलिँदो विश्व परिवेश र भूराजनीतिक परिस्थितिमा राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
राज्य सञ्चालनमा सक्रिय नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउने अपेक्षा व्यक्त गर्दै उनले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।
दसैँको शुभकामना सन्देशमा उनले यस वर्षको वर्षायाममा भएका प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षा र बुढीगण्डकीको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको उल्लेख गर्दै उनले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अपनाउनुपर्ने बताएका छन् ।
प्राकृतिक विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राख्न उनले आग्रह गरेका छन् । साथै, पुनर्निर्माणका क्रममा बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्ने उनको भनाइ छ ।
‘नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले देशको कठिन अवस्थामा एकअर्कालाई साथ दिन, राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न र सामाजिक सद्भाव कायम गर्न पनि आग्रह गरेका छन् । एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु नै साँचो देशभक्ति भएको उनको सन्देशमा उल्लेख छ ।
उनले नेपाली समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबैमा जागृत हुनुपर्ने बताएका छन् ।




















