ढल्केबरमा ट्रमा सेन्टर निर्माणको योजना यथावत्, भ्रममा नपर्न स्वास्थ्यमन्त्री निसा मेहताको आग्रह

२१ साउन, काठमाडौ ।  — स्वास्थ्य तथा जनसंख्या मन्त्री निसा मेहताले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पार्दै यसबारे फैलिएको भ्रममा नपर्न आग्रह गर्नुभएको छ।

मन्त्री मेहताले मंगलबार संघीय संसदमा लहानमा ट्रमा सेन्टर निर्माण गर्ने विषय उल्लेख गरेपछि ढल्केबरमा ट्रमा सेन्टर नबन्ने हो कि भन्ने जिज्ञासा र चासो विभिन्न पक्षबाट व्यक्त भएको भन्दै त्यसबारे स्पष्ट पार्नुभएको हो।

उहाँका अनुसार ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने योजना कुनै पनि रूपमा रोकिएको वा परिवर्तन गरिएको छैन। पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालमा रहेको ढल्केबरको भौगोलिक महत्वका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै रहेको र मन्त्रालय त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

मन्त्री मेहताले संसदमा लहानको सन्दर्भ उठाउनुको उद्देश्य कुनै एक स्थानलाई प्राथमिकता दिएर अर्को स्थानलाई पछाडि पार्ने नभएको स्पष्ट पार्दै मधेश प्रदेशका विभिन्न क्षेत्रमा दुर्घटनाको अवस्था, जनघनत्व, स्वास्थ्य सेवामा पहुँच तथा भौगोलिक आवश्यकतालाई आधार बनाएर क्रमिक रूपमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको दीर्घकालीन योजना रहेको जानकारी दिनुभयो।

उहाँले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने, आकस्मिक उपचारलाई प्रभावकारी बनाउने तथा दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित मन्त्रालयले आवश्यक अध्ययन, योजना र स्रोत व्यवस्थापनको काम अगाडि बढाइरहेको बताउनुभयो।

स्वास्थ्यमन्त्री मेहताले ट्रमा सेन्टर निर्माण सम्बन्धी विषयमा कुनै भ्रममा नपरी तथ्यमा आधारित जानकारीलाई मात्र विश्वास गर्न सबैसँग आग्रह गर्नुभएको छ।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more