२० साउन , जनकपुरधाम।— धनुषामा एलपी ग्यासको आपूर्ति तथा वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले सरोकारवालासँग समन्वय बैठक गरी ६ बुँदे निर्णय गरेको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा ग्यास विक्रेता संघ धनुषाका प्रतिनिधि, जनकपुरधामका विभिन्न ग्यास व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा बसेको बैठकले ग्यास आपूर्ति व्यवस्थापन, उपभोक्तालाई सहज वितरण तथा कृत्रिम अभाव रोक्न विभिन्न निर्णय गरेको हो।
बैठकले जिल्लामा रहेका खाना पकाउने एलपी ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने ग्यासमध्ये धनुषालाई प्राथमिकता दिई लागतका आधारमा समानुपातिक वितरण गर्ने निर्णय गरेको छ। साथै, ग्यास विक्रेताले एक परिवारलाई एक सिलिन्डर मात्र बिक्री गर्नुपर्ने तथा बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने निर्णय गरिएको छ।
यस्तै, व्यावसायिक प्रयोजनभन्दा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्ने, हल्लाको भरमा आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
बैठकले कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य असुल्ने, अनुचित भण्डारण गर्ने, सहज आपूर्ति नगर्ने तथा कालोबजारीजस्ता गतिविधिमा संलग्न व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग संयुक्त बजार अनुगमन सञ्चालन गरी ग्यासको माग, आपूर्ति तथा बिक्री वितरणलाई नियमित रूपमा अनुगमन गर्ने निर्णय पनि गरेको छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलागी आवश्यक परिमाणमा मात्रै ग्यास खरिद गर्न तथा कृत्रिम अभाव सिर्जना हुन नदिन सहयोग गर्न आग्रह गरेको छ।


















