डिजिटल शासन प्रणाली अपरिहार्य : गगन थापा

२८ माघ, काठमाडौ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको झन्झट र हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको सेवा प्रवाह प्रणाली जटिल, ढिलो र नागरिकमैत्री नभएको उल्लेख गरेका हुन्। उनका अनुसार सरकारी कार्यालयमा सामान्य सेवा लिन जाँदा घण्टौँ लाइनमा बस्नुपर्ने, एउटा फाइल एक कार्यालयबाट अर्को कार्यालयसम्म घुमिरहँदा अनावश्यक ढिलाइ हुने तथा सानातिना कामका लागि समेत पटक–पटक धाउनुपर्ने अवस्था अझै कायमै छ।
“हामीलाई ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ चाहिएको छ,” थापाको भनाइ उद्धृत गर्दै उनले सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन शासनको शैली र कार्यप्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले प्रशासनिक संरचना सानो तर प्रभावकारी बनाउँदै परिणाममुखी सुशासन सुनिश्चित गर्नुपर्ने बताए। ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको सम्पूर्ण प्रक्रिया सुधार गर्न सकिने उल्लेख गर्दै उनले अनलाइन प्रणाली, प्रविधि–आधारित सेवा र पारदर्शी प्रक्रिया लागू भए ढिलासुस्ती, कागजी झन्झट तथा अनावश्यक सम्पर्क न्यून हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस डिजिटल माध्यमबाट सुशासन सुदृढ गर्न प्रतिबद्ध रहेको जनाउँदै थापाले समयानुकूल शासन प्रणालीमा रूपान्तरण नगरी नागरिकको अपेक्षा पूरा गर्न नसकिने निष्कर्ष समेत दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more