डा. राजेन्द्रप्रसाद विमलको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

२८ साउन , काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राध्यापक डा. राजेन्द्रप्रसाद विमलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

एमाले केन्द्रीय कार्यालयले बिहीबार जारी गरेको समवेदना सन्देशमा अध्यक्ष ओलीले विमलको निधनबाट आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

सन्देशमा जनकपुरको देवीचोकमा जन्मिएका विमलले बाल्यकालदेखि नै साहित्यप्रति रुचि र समर्पण देखाउँदै नेपाली तथा मैथिली भाषामा उच्च शिक्षा हासिल गरी साहित्य र भाषाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसबाट प्रकाशित बुलेटिनका संस्थापक सम्पादक तथा नेपाल उद्योग वाणिज्य महासंघको बुलेटिनका सम्पादकका रूपमा समेत पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका विमलले त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा सेवा गर्दै नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा दर्जनौँ शोधपरक तथा समालोचनात्मक कृति प्रकाशित गरेको एमालेको सन्देशमा उल्लेख छ।

विमलका नेपाली तथा मैथिली भाषामा प्रकाशित कृतिहरू प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रममा समेत समावेश रहेको जनाइएको छ।

जगदम्बाश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, बगर फाउन्डेसन गोपालप्रसाद रिमाल सम्मान, वैद्यनाथ सयामीदेवी मैथिली पुरस्कार, संस्कृति दर्शन प्रज्ञा पुरस्कार, मैनाली कथा पुरस्कार, कलाश्री पुरस्कार र विद्यापति पुरस्कारलगायत दर्जनौँ सम्मानबाट विभूषित विमलले नेपालको सांस्कृतिक एकतालाई बलियो बनाउन प्राज्ञिक अगुवाइ गरेको ओलीले उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा विमलले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, उनका सुपुत्र डा. आभास लाभ र श्री विभाष लाभलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

डा. विमलको निधनप्रति एमाले अध्यक्ष ओलीको समवेदना सन्देशले उनको साहित्यिक, भाषिक तथा प्राज्ञिक योगदानलाई विशेष रूपमा स्मरण गरेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more