ठोरी नाकाबाट भारतीय पर्यटकको प्रवेश रोकियो, सयौं पर्यटक सीमाबाटै फर्किए

२० असार , ठोरी (पर्सा)। मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य ठोरी घुम्न आएका सयौं भारतीय पर्यटकलाई शनिबार नेपाल–भारत सीमा क्षेत्रबाटै फर्काइएको छ। सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै नेपाल प्रवेश गर्न नदिएपछि पर्यटकहरू निराश हुँदै भारत फर्किएका हुन्।
स्थानीयका अनुसार भारतीय पर्यटकहरूले आवश्यक भन्सार शुल्क तिर्ने र २–४ किलोमिटर मात्रै नेपालभित्र घुमेर फर्किने जानकारी गराउँदा पनि प्रवेश अनुमति दिइएन। ठोरी छोटी भन्सार कार्यालय करिब ९ महिनादेखि बन्द रहेकाले पर्यटकले वैधानिक प्रक्रिया पूरा गर्ने अवसरसमेत पाएनन्।
स्थानीय व्यवसायीका अनुसार भन्सार प्रक्रिया पूरा गर्न वीरगञ्ज पुग्न करिब ७० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता छ। करिब एक सय वर्षदेखि सञ्चालनमा रहेको ठोरी छोटी भन्सार बन्द भएपछि सीमा क्षेत्रको आवागमन र पर्यटन गतिविधि प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ।
यसअघि भारतीय पर्यटकहरू ठोरी हुँदै चितवनको माडीसम्म घुम्न जाने र सोही नाकाबाट फर्किने गरेका थिए। तर सीमा प्रवेशमै रोक लगाएपछि ठोरीको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पर्ने स्थानीयको चिन्ता छ।
स्थानीय सरोकारवालाले यस अवस्थालाई ठोरीमाथिको ‘अघोषित नाकाबन्दी’को संज्ञा दिएका छन्। उनीहरूका अनुसार वार्षिक करिब एक लाख भारतीय पर्यटक ठोरी आउने गरेका थिए। सीमा प्रवेशमा रोक लागेपछि पर्यटन व्यवसाय, स्थानीय आम्दानी र रोजगारीमा गम्भीर असर पर्ने उनीहरूको भनाइ छ।
यस विषयमा सम्बन्धित सुरक्षा निकाय र भन्सार कार्यालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more