कार्तिक ४,जनकपुरधाम। शिवराम झा “गुड्डु” —– जनकपुरधाम, मिथिलाको आस्था र पहिचानको केन्द्र हो । यही धर्तीमा भगवान श्रीराम र जानकीको पवित्र मिलन भएको विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन यहाँ दर्शनका लागि आउने गर्छन् । यही पवित्र भूमिमा अवस्थित जानकी मन्दिर केवल इँट–ढुंगाको संरचना होइन — यो मिथिलाको आत्मा, संस्कृति र श्रद्धाको प्रतीक हो । तर पछिल्ला वर्षहरूमा यस पवित्र स्थानको गरिमा र मर्यादामा गम्भीर चोट पुग्ने घटना क्रमशः दोहोरिँदै गएको देखिन्छ ।
हिजोको दीपावलिको रात, मन्दिर परिसरभित्रै सयौँ युवाहरूले पटका पड्काउँदै, आतिसबाजी गर्दै रमिता मच्चाए । त्यो दृश्य धार्मिक श्रद्धाभावभन्दा बढी मेला–महोत्सव र खेलकुदको उन्माद झल्काउने खालको थियो । मन्दिर परिसर धुँवा, आवाज र भीडले भरिएको देख्दा श्रद्धालुहरू मात्र होइन, स्थानीय बुद्धिजीवी र धार्मिक अगुवाहरू समेत स्तब्ध बने । पवित्र स्थलमा यस्तो क्रियाकलाप हुनु भनेको धार्मिक आस्थाको अपमान हो ।
मिथिलाको संस्कृति सादगी, श्रद्धा र संयममा टेकेको छ । दीपावली होस् वा छठ, यहाँका उत्सवहरूमा श्रद्धा नै केन्द्रमा रहन्छ । तर पछिल्लो समय धर्मका नाममा दर्शनी प्रदर्शनी र मनोरञ्जनको चलन बढ्दै गएको छ । केही समयअघि मन्दिर परिसरमा आयोजित खेल परेड र विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा पनि मर्यादाभन्दा बढी शोरगुल, नाचगान र आतिशबाजीको प्रयोग भएको थियो । यसरी आस्थाको भूमिलाई मनोरञ्जनको मंचमा रूपान्तरण गर्ने प्रवृत्ति न रोकेसम्म जानकी मन्दिरको पवित्रता क्रमशः नष्ट हुँदै जानेछ ।
स्मरण रहोस् — जानकी मन्दिर केवल जनकपुरधामको सम्पत्ति होइन , यो राष्ट्रको गौरव हो । नेपालभरका हिन्दूहरू मात्र होइन विश्वभरका भक्तजनका लागि पनि यो स्थान समान श्रद्धाको विषय हो । त्यसैले यहाँ हुने प्रत्येक गतिविधि धार्मिक मर्यादाभित्र सीमित रहनैपर्छ ।
स्थानीय प्रशासन, मन्दिर प्रसासन र जनकपुर उपमहानगरपालिका — सबैले यो विषयमा तत्काल ध्यान दिनु आवश्यक छ । दीपावली जस्तो उत्सवमा आतिशबाजी, ध्वनि प्रदूषण र भिड नियन्त्रणको व्यवस्थापन गर्न सकेनौं भने, यो पवित्र स्थल ‘कृडा स्थल’मा रूपान्तरण हुन धेरै समय लाग्दैन । धार्मिक क्षेत्रको सुरक्षाका लागि कडा नियम बनाइनुपर्छ, र तोड्नेहरूलाई कारबाही गरिनुपर्छ ।
अर्को महत्त्वपूर्ण पक्ष — आस्था र संस्कृति सँगै सहअस्तित्वमा बस्न सक्ने जिम्मेवार नागरिक चेतना जगाउनुपर्छ । धार्मिक उत्सवको नाममा धुमधाम होइन, भक्ति–भावनाको प्रदर्शन हुनुपर्छ । जनकपुरका युवाहरूले मन्दिरको सौन्दर्य, पवित्रता र मौलिकता जोगाउने अभियान चलाउनुपर्छ, न कि त्यसको विनाश गर्ने अभ्यास ।
जानकी मन्दिर मिथिलाको हृदय हो । यो भूमिको प्रत्येक कणमा सीताको पवित्रता मिसिएको छ । त्यसैले यो स्थानमा पटका, आतिशबाजी र खेलकुदको होहल्ला होइन — आरती, भजन र दीप–प्रज्ज्वलनको शान्त स्वर गुन्जिनु पर्छ ।जानकी मन्दिरलाई खेलमैदान नबनाऔं, श्रद्धाको प्रतीकका रूपमा सुरक्षित गरौं ।





















