जनकपुरधाममा फुटपाथ अतिक्रमणविरुद्ध हस्ताक्षर अभियान

माघ १८, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध पत्रकार ध्रुब झाको पहलमा हस्ताक्षर अभियान सुरु गरिएको छ। सर्वसाधारणलाई आवागमनमा भइरहेको कठिनाइलाई मध्यनजर गर्दै अव्यवस्थित व्यापार र सार्वजनिक स्थानको अतिक्रमण हटाउन सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका परमेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका मनिष झासहित एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दीपक कुमार ठाकुर, जसपाका नेता शम्भु झालगायतको उपस्थितिमा अभियान शुभारम्भ गरिएको थियो। कार्यक्रममा स्थानीय नागरिक, व्यापारी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै उम्मेदवारद्वयले जनकपुरधामलाई व्यवस्थित, सुन्दर र नागरिकमैत्री सहरका रूपमा विकास गर्न फुटपाथ अतिक्रमण नियन्त्रण अनिवार्य रहेको धारणा व्यक्त गरे। “सडक र फुटपाथ आम नागरिकको साझा सम्पत्ति हुन्। तिनको दुरुपयोग रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन र नागरिकबीच समन्वय आवश्यक छ,” रास्वपाका उम्मेदवार झाले बताए।
जसपाका उम्मेदवार साहले निर्वाचित भए शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै फुटपाथ अतिक्रमणमुक्त अभियानलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
अभियानका संयोजक पत्रकार ध्रुब झाले विगत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमणविरुद्ध आवाज उठाउँदै आए पनि उपमहानगरपालिकाबाट प्रभावकारी पहल नभएपछि नागरिकस्तरबाट हस्ताक्षर अभियान सुरु गर्नुपरेको बताए। “जनकपुरधामका फुटपाथ कुनै व्यक्तिको निजी सम्पत्ति होइनन्, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। पैदल यात्री सुरक्षित रूपमा हिँड्न नपाउने अवस्था गम्भीर विषय हो। यो केवल सौन्दर्यको प्रश्न होइन, नागरिक अधिकारको सवाल हो,” उनले भने।
प्रशासनको उदासीनताका कारण समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै झाले अब नागरिक दबाबमार्फत समाधान खोज्ने अभियान अघि बढाइएको जानकारी दिए। संकलित हस्ताक्षरसहित सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइने तयारी रहेको उनले बताए।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more