६ भदौ, जनकपुरधाम । जनकपुरधाममा गुठी अधीनस्थ अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत डोजर चलाउन सुरु गरिएको छ। अभियानको पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउन थालिएको हो।
जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने कामबाट अभियान सुरु गरिएको हो।
गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार आजै जनकपुरका सात वटा पोखरीको अतिक्रमण हटाउने तयारी गरिएको छ। अतिक्रमित स्थान खाली गर्न गत साउन १ गते नै सूचना जारी गरिएको उनले बताए।
उनका अनुसार पहिलो चरणमा पहिचान गरिएका ५० वटा अतिक्रमित पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको छ।
अतिक्रमण हटाउने कार्यलाई विभिन्न चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाउने कार्ययोजना बनाइएको समितिले जनाएको छ।
जनकपुरका गुठी जग्गा पहिचान तथा अतिक्रमण हटाउन २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको छ।
लामो समयदेखि अतिक्रमणमा रहेका गुठीका पोखरी, मन्दिर परिसर तथा अन्य जग्गा संरक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अतिक्रमण हटाउने क्रममा सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।




















