५ चैत, चैत ।काठमाडौं — संघीय संसद्को नयाँ अधिवेशन यही चैत १६ गते बोलाउने तयारी अघि बढाइएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै अधिवेशन आह्वानको प्रक्रिया अगाडि बढाइएको हो।
बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गर्दै शपथ र पहिलो बैठकको तयारीबारे सहमति जुटाएको छ।
छलफलअनुसार नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने तय गरिएको छ। सो दिन बिहान ११:३० बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् भने दिउँसो २ बजे अन्य सदस्यहरूलाई शपथ गराइनेछ।
शपथपछि सरकार गठनको प्रक्रिया सुरु हुनेछ। चैत १३, १४ र १५ गते सरकार गठनसँग सम्बन्धित गतिविधि अघि बढ्ने र त्यसपछि चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्ने तयारी गरिएको छ।
एकराम गिरीका अनुसार शपथ सम्पन्न भएसँगै अधिवेशन आह्वान हुने छ। यस्तै रमेश मल्लले पनि सर्वदलीय बैठकमा शपथपछि सरकार गठन र लगत्तै संसद् अधिवेशन बोलाउनेबारे जानकारी दिइएको बताए।

















