५ चैत , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने मिति तय भएको छ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच भएको छलफलपछि उक्त मिति टुंगो लगाइएको हो।
उपसभापति वाग्लेका अनुसार चैत १२ गते प्रतिनिधिसभाका सांसदहरूले शपथ लिने कार्यक्रम तय गरिएको छ भने त्यसको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ हुनेछ। “चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,” उनले बताए।
सांसदहरूले चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम रहेको छ। संवैधानिक व्यवस्थाअनुसार सांसदको शपथपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने भएकाले शाहको शपथ चैत १३ का लागि तय गरिएको हो।
यस्तै, रास्वपाका शीर्ष नेताहरूबीचको छलफलमा सोही दिन मन्त्रीपरिषद् गठन गरी मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको जनाइएको छ। पार्टीभित्र ‘राजकाज’ सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको समेत नेताहरूले बताएका छन्।

















