गोस्वामी तुलसीदासको जन्मोत्सव जनकपुरधाममा धुमधामका साथ मनाइयो

४ भदौ, जनकपुरधाम। सन्त शिरोमणि गोस्वामी तुलसीदासको जन्मोत्सव जनकपुरधाममा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइएको छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अध्यक्षतामा तुलसी स्मारकमा आयोजित समारोहमा वक्ताहरूले गोस्वामी तुलसीदासको व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरेका थिए। वक्ताहरूले तुलसीदासले हिन्दु धर्म, धार्मिक साहित्य तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानको स्मरण गर्दै धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा जोड दिएका थिए।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, साधु–सन्त, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो।

वक्ताहरूले अन्तरगृह परिक्रमा क्षेत्रको धार्मिक तथा सांस्कृतिक अक्षुण्णता कायम राख्न परिक्रमा क्षेत्रभित्र सञ्चालित मासु तथा मदिराजन्य गतिविधि बाहिर सार्नुपर्ने मागसमेत गरेका थिए। हिन्दु धर्मको संरक्षण तथा संवर्द्धनका लागि धार्मिक क्षेत्रको मौलिकता र पवित्रता कायम राख्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।

तुलसी स्मारकमा आयोजित समारोहमा गोस्वामी तुलसीदासको जीवन, चरित्र तथा योगदानमा आधारित विभिन्न भजन तथा गायन प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा गोस्वामी तुलसीदासको प्रतिमालाई नगर परिक्रमा गराइएको थियो। जन्मोत्सवको अवसरमा श्रद्धालु तथा सहभागीहरूका लागि भण्डारासमेत आयोजना गरिएको थियो।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more