कांग्रेस संस्थापन इतर समूहको भेला सम्पन्न, सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको दुई दिने राष्ट्रिय भेला पाँच वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले आयोजना गरेको भेलाले पार्टीको १५औँ महाधिवेशनदेखि धर्म, संस्कृति र राष्ट्रिय पहिचानसम्मका विषय समेटिएका प्रस्ताव पारित गरेको हो।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार रहेको निष्कर्ष निकालेको छ। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा हरेक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चिततामा जोड दिइएको छ।
त्यस्तै, नेपालमा परम्परादेखि चलिआएका हिन्दु, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षण गर्नुपर्नेमा भेलाले जोड दिएको छ। नेपालको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षणलाई राज्यको दायित्वका रूपमा अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
भेलाले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्दै देशलाई सोहीअनुसार अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
दुई दिनसम्म चलेको भेलामा पार्टीको आगामी १५औँ महाधिवेशन, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक विषय तथा धर्म–संस्कृतिसहित विभिन्न विषयमा छलफल भएको थियो। भेलाले पारित गरेका पाँच प्रस्तावमार्फत पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे समूहको धारणा सार्वजनिक गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more