३१ साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठपुतली’ र ‘असंवैधानिक’ सरकारको संज्ञा दिएका छन्। सरकारले देशलाई गलत दिशातर्फ अघि बढाइरहेको आरोप लगाउँदै ओलीले कृत्रिम र अनधिकृत ढंगबाट सरकार गठन गरी निर्वाचनका नाममा नाटक गरिएको दाबी गरेका छन्।
ओलीले प्रतिनिधिसभाको कार्यकाल बाँकी रहँदै संसद् विघटन गरी नयाँ संसद्को खोजी गर्नुको उद्देश्य आफूअनुकूलको संसद् निर्माण गर्नु रहेको आरोप लगाए। उनका अनुसार लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँदै आफ्नो स्वार्थअनुकूल राजनीतिक संरचना निर्माण गर्ने प्रयास भइरहेको छ।
शासन सञ्चालनका लागि अनुभव, दक्षता र राजनीतिक सीप आवश्यक पर्ने उल्लेख गर्दै ओलीले ‘नयाँले गर्नुपर्छ, पुरानाले हुँदैन’ भन्ने नाममा अनुभवी व्यक्तिलाई पन्छाउँदा देशले समस्या भोग्नुपरेको बताए। अनुभव र क्षमता नपुगेका व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिँदा सरकार सञ्चालनमै कठिनाइ देखिएको उनको जिकिर थियो।
वर्तमान जनप्रतिनिधिको क्षमता र अनुभवमाथि समेत प्रश्न उठाउँदै ओलीले उनीहरूको भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए। संविधानलाई सही बाटोमा फर्काउँदै लोकतान्त्रिक प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।
संविधान मिचिएको आरोप लगाउँदै ओलीले संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थालाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफूहरूको रहेको बताए। प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक सरकारले निर्वाचनका नाममा नाटक गरिरहेको उनको आरोप थियो।
आफूमाथि राजनीतिक रूपमा नियन्त्रण कायम गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले त्यस्ता प्रयासलाई स्वीकार नगरी आफूहरू अघि बढिरहेको बताए।


















